सुन्दर कुरूप
(चुलाचुली- २, इलाम)
रातभरि सपनीमा तिमीसँगै हुन्छु म त
तिमी हाँस्दा हाँस्ने मान्छे तिमी रुदा रुन्छु म त ।
सर्माएर पछ्यौरीले मुहारलाई नछोप है
मुस्कान टिपी ती ओठका एउटा गजल उन्छु म त ।
तिम्रो रूप जस्तो कहाँ चन्द्रमाको रूप छ र
कोइलीको भन्दा मीठो तिम्रो बोली सुन्छु म त ।
तिमीसँग कस्तो गहिरो नदेखिने माया बस्यो
सयौँ जन्म लिए पनि मात्रै तिमीलाई चुन्छु म त ।
गुलाबको फूल तिमी हाँगाभरि काँडा होलान्
फूल चुम्न गुलाबको काँडा पनि छुन्छु म त ।
प्रकाशित २०६४ असार अंक(शब्दाङ्कुर साहित्यप्रधान मासिक)