कवि तथा गायक राजशेमान के.सी. ले लेख्नु भएको विभिन्न विधाका चारवटा कृतिहरु गत भाद्र ६ गते एक विशेष समारोहका विच सार्वजनिकरण गरिएको छ । समारोहका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव श्री जगत प्रसाद उपाध्यायले विमोचन गर्नु भएको उक्त कृतिहरुमा “दृष्टिकोण” नामक लेख–निवन्ध संग्रह, “उत्प्रेरणा” नामक विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय वैज्ञानिक व्यक्तित्वहरुको जीवनी र योगदान सम्बन्धी लेख–रचनाहरुको संग्रह एवं “सृष्टि” र “जिन्दगीको यात्रा” नामक दुईवटा कविता संग्रह रहेका छन् । उक्त कृतिहरुको विमोचनपछि आफ्नो मन्तव्य व्यक्त गर्नु हुँदै प्रमुख अतिथि उपाध्यायले कृतिकार राजेशमान के.सी.ले लेख्नु भएको विभिन्न चारवटा कृतिहरु अत्यन्त जीवनोपयोगी एवं समय सान्दर्भिक रहेको र त्यसमा पनि उहाँ गद्य लेखनतर्फ बढी सफल देखिनु भएको हुँदा यसै अनुरुप आफ्नो लेखन कार्यलाई निरन्तरता दिन उपयुक्त हुने सुझाव दिनु भयो ।
त्यसैगरी कवि के.सी.की सुपुत्री एवं ब्लाइण्ड रक्स संस्थाकी संस्थापक अध्यक्ष सृष्टि के.सी.ले बुबाले यसरी साहित्यिक क्षेत्रमा लागेर पुस्तकहरु प्रकाशन गर्दा आफूलाई निकै गर्वको महसूस भएको र यसबाट आफूलाई पनि आफ्नो क्षेत्रमा अझ सक्रिय भएर लाग्ने प्रेरणा मिलेको धारणा व्यक्त गर्नु भयो । त्यसपछि कृतिकार राजेशमान के.सी.ले आफूले साहित्य सिर्जना मार्फत् समाजको सकारात्मक रुपान्तरणमा योगदान पु्र्याउने उद्धेश्यले पुस्तकहरु लेखेको र आफ्नो सेवा निवृत्त जीवन यस्तै सृजनशील कार्यमा व्यतीत गर्ने बताउनु भएको थियो । सो अवसरमा प्रमुख अतिथि उपाध्यायले कृतिकार राजेशमान के.सी.लाई विशेष कदर पत्रद्धारा सम्मानित पनि गर्नु भएको थियो । सम्मान ग्रहणपछि कवि तथा गायक के.सी.ले आफ्नै स्वर, संगीत र शव्दको एउटा उत्प्रेरणामूलक गीत पनि प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार शेखर ढुङ्गेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने बरिष्ठ समालोचक युवराज मैनाली एवं बरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलले विमोचित कृतिहरुमाथि आ–आफ्नो समीक्षात्मक मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार विनोद नेपाल, विनयध्वज थापा, विद्या घिमिरे, त्रिविक्रम पाण्डे, लाल बहादुर भुजेल, बसन्त मुनकर्मी लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सिर्जना अभियान समाजद्धारा भक्तपुरको सृजनानगरस्थित मोडर्न कलेलमा आयोजित उक्त कार्यक्रमको सभापतित्व बरिष्ठ साहित्यकार एवं प्राज्ञ ध्रुव मधिकर्मीले गर्नु भएको थियो ।