वैशाख १६, काठमाडौं । रमेश क्षितिजको नयाँ कविता सङ्ग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ सार्वजनिक भएको छ । करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सिर्जना गरेका ५३ वटा जीवनपरक दार्शनिक कविता सङ्ग्रहमा सङ्ग्रहित छन् ।
पाँच खण्डमा विभाजित सङ्ग्रहका कविताबारे कवि अविनाश श्रेष्ठले पूर्वीय दर्शनलाई सरल तरिकाले भन्दै काव्यिक संवेदनाको शील्पलाई सरल ढंगले कविताले भनेको बताए । ‘प्रकृति, जीवन, जगत् र मानवीय संवेदनाका बिम्बहरूलाई सरल र सहज भाषाशैलीमा प्रस्तुत गर्न सक्नु कवि क्षितिजको विशेषता हो । उनका कविता मन्त्र जस्तै छैनन्, जीवनमन्त्र नै हुन् ,’ उनले भने ।
२०५६ सालमा ‘अर्को साँझ पर्खेर साँझमा’ र २०६६ मा ‘घर फर्किरहेको मानिस’ कविता सङ्ग्रहबाट नेपाली कविता जगतमा उदाएका क्षितिजको ‘आफैं आफ्नो साथी भएँ’ गीत सङ्ग्रहका साथै दर्जनौं गीतहरू लोकप्रिय छन् ।