प्रेम ओझा
दुई कलश राखेको ढोकामा नजर छ
बलेँसीभरिको पानी–फोकामा नजर छ ।
उल्टै पाउ फर्किएँ म दलानमा पुगेपछि
कैयौँपल्ट पाएको/खाएको धोकामा नजर छ ।
फूलहरु झुल्दै छाया–प्रतिच्छाया लिएर
छेकिन्न पर्दा हावाको झोकामा नजर छ ।
लुट्नेहरुले लुटे जवानीको भण्डारबाट
तृप्तहरु छेकिए सबै अब भोकामा नजर छ ।
माया र प्रेम अटुट बन्धन हो भन्छन्
रेशमको धागो बनाउने कोकामा नजर छ ।
तीर चल्यो, बाण चल्यो गोली पनि चल्यो
मुटु छेडिएपछि अब खोकामा नजर छ ।