१६ पुस, काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानको १४४ औँ आख्यान वाचन शृङ्खला सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सञ्चालन भएको यस कार्यक्रममा वरिष्ठ हास्यव्यङ्ग्य कवि मुकुन्द आचार्यको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथि सुरभि साहित्य प्रतिष्ठानका संरक्षक गोविन्दप्रसाद घिमिरे वेदमणि हुनुहुन्थ्यो। प्रतिष्ठानका सचिव अच्युत घिमिरेको सञ्चालन रहेको यस कार्यक्रममा विश्व कुइँकेल, सुशील आचार्य, भोलानाथ सुवेदी, महेशकुमार वाग्ले, राजेशमान केसी, पवित्रा पौडेल, सुरेश सुवेदी, परशुराम पराशर, गोविन्दप्रसाद घिमिरे वेदमणि र प्रमुख अतिथि मुकुन्द आचार्यले कथा, लघुकथा, निबन्ध वाचन गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले कथालाई वाचनले प्रभाव पार्ने हुनाले वाचनमा ध्यान दिनुपर्ने कुरा बताउनु भयो। त्यसैगरी वहाँले कथाका तत्त्वहरूको सामान्य चर्चा गर्दै कथासिद्धान्तको बारे बताउनुभयो। प्रमुख अतिथि मुकुन्द आचार्यले कथा भनेको नै गाउँघरमा भएका कुराहरू भन्दै कथाकै रूपमा एउटा प्रत्यक्ष घटना सुनाउनु भयो।
वाचित कथाहरूको समीक्षा प्रमोद प्याकुरेलले गर्नुभएको थियो भने कार्यक्रमको सुरुवात प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्यबाट भएको थियो ।
Facebook Comments Box

Similar Posts