काठमाडाै । वासु शशी स्मृति परिषदले तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७ औं जन्मजयन्तीको अवसरमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसले वरिष्ठ साहित्यकार हिरण्य भाेजपुरेलाई २०७९ सालको ‘वासु शशी साहित्य सम्मान’ प्रदान गरेको छ ।

यसैगरी कवि श्यामललाई रु. २५,०००।- हजार नगदसहित २०७९ सालको ‘वासु शशी साहित्य पुरस्कार’ र वासु शशीका नाटकमा नाट्यतत्व’ शीर्षकमा विद्यावारिधि गर्नु भएका अनुसन्धानकर्ता डा. गोपीकृष्ण खतिवडालाई रु. २१,०००।- नगदसहित ‘वासु शशी शाेध पुरस्कार” प्रदान गरेकाे छ।
सोही अवसरमा प्रमुख अतिथि दिवसले समाजसेवी तथा साहित्यकार रमेश रेग्मीकाे तेस्राे कृति ‘मेराे छाेरा फर्किनै पर्छ’ कथासङ्ग्रह लोकार्पण गरेका थिए । प्रमुख अतिथि तुलसी दिवस, अध्यक्ष गणेश रसिक र सम्मानितहरु हिरण्य भाेजपुरे, पुरस्कृतहरु श्यामल र डा. खतिवडाले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम बैद्यको उपस्थिति रहेको थियो ।

सम्मानित व्यक्तित्व भाेजपुरे विगत छ दशकदेखि कविता, गीत, कथा, उपन्यास लेखनमा सक्रिय छन । उनकाे डेढ दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् । विगत तीन दशकदेखि सक्रिय साहित्यकार श्यामलकाे आधा दर्जन साहित्यिक पुस्तकहरु प्रकाशित छन् ।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ साहित्यकार हिरण्य भाेजपुरे, साहित्यकार श्यामल र डा. गाेपीकृष्ण खतिवडाले मन्तव्य राख्नु भयाे ।

साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष विश्वविमाेहन श्रेष्ठले वरिष्ठ कवि एवं नाटककार वासु शशी, हिरण्य भाेजपुरे, श्यामल, डा. गाेपीकृष्ण खतिवडाको परिचय राखेका थिए ।

साहित्यकार सुमन वर्षाले साहित्यकार रमेश रेग्मीको कथासङ्ग्रहबारे चर्चा गरिन भने परिषद्का सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कवि यादव भट्टराईले गरेका थिए ।

Facebook Comments Box

Similar Posts