सागर फुयाल
(बर्लिन, जर्मनी)
चारदेखि छ, साडे छ फिटसम्मको
उचाईभित्र समेटिएको
हाड र मासुको विचित्र बनोटमाथि
छालारूपी आवरणको प्लासटर भएको
कसैले चिन्न नसकेको,
कसैले बुझ्न नसकेको,
र खासमा आफैंले पनि आफैंलाई
चिन्न नसकेको, बुझ्न नसकेको
म, एक अदभूत मान्छे !
म चाहन्छु
घाम पनि मेरो रहरमा
मध्य रातमा उदाओस
उदाउनु र अस्ताउनु अघि मेरो इसारा कुरोस
मध्यान्न मै रात परी जून झिलमिलाओस
घामको किरण जूनको शीतल आफैंमाथि परोस !
म चाहन्छु
खोला पनि मेरो लहडमा
मेरै पछि पछि बगोस
कहिले सुकोस, कहिले बाढी बनोस
कहिले जहाँबाट उम्रिएको हो
त्यही गर्भभित्र पसोस !
म चाहन्छु
हावा पनि मेरै वसमा परि
कहिले बहोस, कहिले रुकोस
निलो आकास हुँदै हिमाल छुँदै मेरो सामु आओस
आँधी बनि आउँदा पनि
बाटो मोडी अन्तै जाओस !
म चाहन्छु
ऋृतु पनि मेरो कामनासरी चलोस
हिंउदमा गर्मी बढोस, गर्मीमा हिंउ परोस
बर्षातमा पानी होइन मोतीका दाना बर्सोस
बाह्रैमास शरद छाओस, फूलमात्र फूलिराखोस
खडेरीको छारोमा धुलो होइन फूलको परागमात्र उडिराखोस !
तर म बुझ्न चाहन्न
लाखौं करोडौं बर्षको यो अस्तित्वमा
दुईचार दिनको जूनी बोकेर पनि
यत्र तत्र सर्वत्र म नै म अनि मेरैमात्र भनि
यति छोटा दुई हात अनि खुट्टाहरूको परिधिभित्र
सिङ्गै सृष्टिको नियमलाई वसमा राख्छु भनि
लखेटी रहेको मृत्युको कालो छाँयाँ समेत नदेखी
फेरि पनि सुखको आशा र
दुखका निराशाको पहाड बोक्दै
अज्ञात गन्तब्य तिर दौडदै गरेको
म, एक अदभूत मान्छे !