विश्व सिग्देल

कृपया शान्त बस, शान्त रहू
यो जङ्गल हो

जङ्गल किराफट्याङ्ग्राको हो
यी बस्छन् पातमा
बालकका हरिया सपना भएर
हावासँगै बयेली खेल्छन्
माटोमा माटै रहेर
सुसेल्छन् मनग्य जङ्गलको गीत

जङ्गल पशुपन्छीको हो
रातदिन
देउराली भन्ज्याङ अनि नागीहरु
खनी खोस्री आफ्ना खुरहरुले
बिउ छर्छन् पन्छीका चुच्चे ज्याबल

जङ्गल बोटबिरूवाको हो
यी थाम्छन्
हाम्रा लागि आकाश
भर्छन् पानी
धर्तीका करोडौँ घैलाहरुमा

जङ्गल
जल, जमिन, रूख र हावा मात्र हैन
किराफट्याङ्ग्रा, पशुपन्छी र
ध्यानस्थ प्राचीन रूख– पात– पत्कार हुन्

यो जङ्गलको प्राकृतिक शान्ति
आमाको गर्भको विराट् हलचल तर शान्ति
थोपा थोपा सिञ्चित गर्दै छ र पठाउँदै छ
नाभीबाट जीवनामृत
जुटाउन देऊ
यसलाई जीवन रस चुपचाप
नबिथोल
कृपया
शान्त होऊ, शान्त रहू
यो जङ्गल हो
तिम्रा लागि तिम्रो समाजमा
जे जे स्वाभाविक लाग्छन्
यहाँ ती
अस्वाभाविक लाग्छन्
अप्राकृतिक लाग्छन्

रमाऊ, चिच्याऊ, उफ्र, कुद,
सोइसोइला खेल टेबुल र कुर्सीहरुमा
पब, रोधीघर, दोहोरी साँझ,
घरबास, होटेल, मेलापर्व
तिम्रा लागि खोलिएका
यिनका लागि त मात्र यही जङ्गल
नितान्त यही जङ्गल

जङ्गलमा
जङ्गलै हुने अधिकार
यिनीहरुको मात्र हो
जङ्गलमा
जङ्गली हुने अधिकार पनि
यिनीहरुको मात्र हो
कृपया
जङ्गली यिनीहरुलाई हुन देऊ
तिमी मान्छे बन !

कृपया शान्त बस, शान्त रहू
यो जङ्गल हो !

Facebook Comments Box

Similar Posts