सागर फुयाल
(बर्लिन, जर्मनी)

थाहा छ मलाई राम्रोसँग
म लुटिएको छु तिमीबाट
लुटेको छौ तिमीले मेरो खुशी
मेरो विश्वास र मेरो आस्था
लुटेको छौ मेरो पसिना
मेरो सम्पदा र मेरो सपना ।

मेरा निरास सुस्केराहरू
मेरा हतास अनुहार र व्यवहारहरू
मेरा बेहोसिएका आवाजहरू
मेरा तप्किएका आँसुहरू
मेरा अनिदा रातहरू
मेरा बोझिला दिनहरू
मेरा रित्ता सपनाहरू
पर्याप्त प्रमाण होइनन् र
म लुटिएको भन्नलाई ?

पात झरि खङ्ग्रङ्ग भएको
रुख जस्तो भैसक्दा पनि
चौवाटोमा हात जोड्ने
माग्ने जस्तो भैसक्दा पनि
तिम्रो अन्त्य नै मेरो
मुक्ति हो भन्ने जान्दा जान्दै पनि
म तिमीलाई धारे हात
लगाउनसम्म सक्दिन भने
तिमीलाई रुदै श्राप
दिनसम्म सक्दिन भने
तिमीलाई आँखा तरेर
हेर्नसम्म सक्दिन भने
तिमीबाट लुटिनुको
विकल्प केही छ र मसँग ?

थहा छ तिमीलाई ?
अभिशप्त छु म लुटिन तिमीबाट
तिमी हुदाँ खुशी नभएपनि
तिमी नहुँदा पक्कै दुखि हुनेछु
अझ त्रसित हुनेछु
किनभने,
तिमी नभएको दिनबाट
अर्को नयाँ कोही आउने छ
किसिम किसिमका
बहाना बनाई
मलाई लुटन फेरि
र नयाँ सस्करणको लुटाईबाट
म आजको भन्दा पनि विषादको
कालो बादल भित्र
हराउने छु ॥

त्यसैले,
नडराउ तिमी
लुटने तिम्रो कर्मलाई दिगो बनाउ
कसम खान्छु
तिम्रो अन्त्यमा मैले मेरो अस्तित्व देख्ने छैन
कुनै विश्वास र आस्था बोक्ने छैन
मेरा सपना, सम्पदा र पसिनाको
हिसाब खोज्ने छैन
म तिमी प्रति अझ अनुगृहीत हुनेछु
तिम्रो कुनै प्रतिवाद गर्ने छैन
आँखा तर्ने छैन
धारे हात लाउने छैन
श्राप दिने छैन
त्यसैले,
तिमी मेरै अनुरोधलाई मानी
बिन्ती, निर्बाध लुट मलाई ॥

Facebook Comments Box

Similar Posts