मुकुन्द बस्नेत
(शिवपुरी ६, नुवाकोट)
हरियो चुरा हातमा मेहदी लायौ कि लाएनौ
आमा बैनीसँगै मन्दिर धायौ कि धाएनौ?
हरियो पहेँलो पहिरनमा मन्दिर धाउँदा
दिनभर भोकै बस्दा सम्झ्यौ कि सम्झेनौ?
पूजा गर्दा दियो बाल्दा के वर माग्यौ कुन्नि
अगरबत्तीको धुवामा रुप पायौ कि पाएनौ ?
यति जान्न मन छ बरै भाकल के गरिछ्यौ
चुहिएको मनको छानो छायौ कि छाएनौ ?
शङ्का लाग्छ कहिले देखावटी पो हो कि
अड्किन्छ गाँस यता खायौ कि खाएनौ ?