भदौ १४, काठमाडौं । हाम्रो लघुकथा केन्द्र, दक्षिणकालीले उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरी पुरस्कार प्रदान गरेको छ । ललितपुर माध्यमिक विद्यालय, लगनखेलमा केन्द्रले एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो । उपत्यका भित्रका ३१ विद्यार्थीले भाग लिएको उक्त प्रतियोगितामा दक्षिणकाली,ग्रीनहिल विद्यालयका समीपजङ्ग केसी प्रथम भएका थिए भने बालबिकास बोर्डिङ्ग स्कुल बुढानिलकण्ठका सुमन भन्डारी द्वितीय भएका थिए । त्यस्तै , महेन्द्रग्राम माबी चाँगुनारायणका दुर्गा परियार तृतीय भएका थिए। सान्त्वना पुरस्कार प्राप्त गर्न सफल ट्रीनिटी माबी काठ्माण्डौबाट स्नेहा अधिकारी भएका थिए ।
उक्त प्रतियोगितामा साहित्यकार नवराज रिजालको संयोजनमा रामकुमार पण्डित र तारा केसीको निर्णयक मण्डल समिति गठन गरिएको थियो । पुरस्कृत छात्रछात्रालाई केन्द्रले क्रमशः ७,०००, ५०००, ३००० र २००० नगद पुरस्कार र प्रमाणपत्रसहित पुस्तक दिएर पुरस्कृत गरेको हो । केन्द्रकी कोषाध्यक्ष सत्या अधिकारीको स्वागत मन्तव्यसँग सुरुआत भएको उक्त कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । केन्द्रको उक्त कार्यक्रमममा लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइराला र ललितपुर माविका विद्यालय निर्देशक उत्तमराज त्रिपाठी विशेष अतिथिका रुपमा रहनुभएको थियो ।
कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, तुलसीहरि कोइराला, उत्तमराज त्रिपाठी, र लोमश वाङ्ग्मय प्रतिष्ठानका अध्यक्ष माधब घिमिरे अटल र यमुना प्रधानाङ्गले आफ्नो भनाइ राख्नुभएको थियो भने जनार्दन रिजाल, रामकृष्ण बस्नेतले विजयी स्रष्टालाई बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रमका पुरस्कार संयोजक मनोज कर्माचार्यले शुभकामना मन्तब्य राख्दै यस्ता कार्यक्रमममा बालबालिका लाई पुरस्कार प्रदान सधै तत्पर रहेको कुरा पनि ब्यक्त गर्नुभयो। मनीषकुमार शर्मा, इन्दिरा चापागाई, रामराजा केसी, ध्रुबराज थापा , लिलाराज दाहाल, महेन्द्र नेउपाने, रामकुमार बस्नेत, पुष्कर खड्का लगायत दर्जनौं लघुकथाकारको उपस्थिति रहेको थियो ।
मिसु श्रेष्ठ थपलिया तथा बन्दना घिमिरेको उद्घोषणमा सञ्चालन भएको उक्त कार्यक्रम केन्द्रका कार्यवाहक अध्यक्ष डा. शेखरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


