जेठ ७, काठमाडौं । विश्व कीर्तिमानी गीतकार र उपन्यासकार डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पित भएको छ। मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा सांसद डा. अमरेशकुमार सिंहसहित अतिथिहरूले कृतिको लोकार्पण गरेका हुन्। साहित्यिक पत्रकार संघले यो कार्यक्रम आयोजना गरेको थियो।
लोकार्पणमा सांसद सिंहले राजनीतिले देशलाई विभाजन गरेको तर साहित्यले जोड्नुपर्ने बताए। उनले पृथ्वीनारायण शाहले देश एकीकरण गरेको सन्दर्भ उल्लेख गर्दै साहित्यकारले आफ्नो लेखनबाट देशलाई जोड्नुपर्ने धारणा राखे। ‘राजनीतिले ढुंगा हान्न सिकाउँछ, देश झन् अधोगतितर्फ छ। सचेत नागरिकले आफ्ना सिर्जनामार्फत् खबरदारी गर्नुपर्छ, म सबैलाई आग्रह गर्छु,’ उनले भने।
कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालले उपन्यासका पात्रमा क्रूरता र ममता दुवै भाव रहेको टिप्पणी गरे। साहित्यिक पत्रकार संघका अध्यक्ष लेखनाथ न्यौपानेले डा. उपाध्यायका कृतिको चर्चा गरे। गायक र संगीतकार सागर अधिकारी ‘घायल’ले डा. उपाध्यायको छोरी बिदाइको गीत ‘आफ्नै’ प्रस्तुत गरे।
कलाकार मदनदास श्रेष्ठ, उत्तम केसी, खनाल सेवा समाजका महासचिव माधव खनाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, गायक र संगीतकार सन्तोष श्रेष्ठलगायतले शुभकामना दिँदै डा. उपाध्यायको कृतित्व र व्यक्तित्वबारे बोले। मदनदासले महिषासुर नाटकको छोटो संवादसहित अभिनय पनि गरे।
सर्जक डा. उपाध्यायले आफूले समाज र परिवेशका घटनालाई साहित्यमा उतार्ने गरेको बताए। विश्व कीर्तिमान राख्ने उद्देश्य नभए पनि काम गर्दै जाँदा कीर्तिमान थपिएको उनले सुनाए। कार्यक्रममा प्रवासमा बसेर नेपाली भाषा र साहित्यको सेवा गरेका साधक विनोद खड्कालाई सम्मान गरियो। ‘आसक्ति’को सम्पादन कृष्ण भुसाल र भाषा सम्पादन रमेश दाहालले गरेका छन्। कुम्भ छापाखानाले प्रकाशित २१२ पृष्ठको यो कृतिको मूल्य २५० रुपैयाँ छ।
गीत र संगीतसहित विभिन्न विधामा १५३ विश्व कीर्तिमान राखेका डा. उपाध्यायको यो सत्रौं उपन्यास हो। उनका ‘मझधार’, ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता कृति पाठकमाझ छन्। समाजशास्त्रमा विद्यावारिधि गरेका डा. उपाध्यायलाई विदेशका आठ विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेका छन्।