राजेशमान केसी
(गट्ठाघर, भक्तपुर)

गायककार, नृत्यकार अथवा चित्रकार ।
देशका लागि गहना हुन् हाम्रा कलाकार ।।
कोही नाच्छन्, कोही गाउँछन्, कोही चित्र कोर्छन् ।
कलाकारले पनि देशमा ठुलो योगदान गर्छन् ।।

गायक कलाकारले जब राम्रो गीत गाउँछ ।
धेरै दर्शक श्रोताबाट उसले ताली पाउँछ ।।
चित्रकारले जब सुन्दर चित्र बनाउँछ ।
कति मानिसले त्यसलाई घरमा सजाउँछ ।।

नर्तकीले जब एउटा राम्रो नृत्य गर्छ ।
कैयौँ दर्शक त्यो नृत्यमा रमाउने गर्छ ।।
कलाकारले जब आफ्नो कला देखाउँछ ।
आफ्नो भावना ‘नि उसले त्यसमा दर्साउँछ ।।

कलाकारलाई धेरै मानिस रूचाउने गर्छन् ।
कलाप्रति आफ्नो सद्भाव दर्साउने गर्छन् ।।
कलाकारले देशविदेश ‘नि घुम्ने मौका पाउँछन् ।
कलामार्फत आफ्नो देशलाई विश्वमै चिनाउँछन् ।।

कलाकार कतिपय भावुक पनि हुन्छन् ।
सौन्दर्य र प्रकृतिको भावनामा डुब्छन् ।।
कलाकारले सधैँ अनुशासित बन्नुपर्छ ।
मदिरा र कुलतबाट टाढै रहनुपर्छ ।।

मनुष्यको भौतिक शरीर नष्ट भइजान्छ ।
कलाकारको कला सधैँ अमर बनिरहन्छ ।।
कलाकार नै देशका लागि हुन्छन् गहना ।
राम्रो कलाकार बन्ने मेरो पनि चाहना ।।

Facebook Comments Box

Similar Posts