रमी प्रिया
ईश्वरछेउ पुग्न नसक्नुको वेदना
असह्य खेलिबस्थ्यो छातीमा
सर्वदा पोलिरहने त्यै घाउलाई च्यापेर
मन्दिरका खुड्किलाहरु गन्दै ओर्लिंदा
बिग्रिरह्यो हिसाब धेरै ठाउँमा ।
एउटै लहरमा फुलेका केही फूलले
यसै ओइलिजानुपर्दाको पीडामा
साक्षी बसेका काँडाहरु
बेलाबखत किलकिले घोच्न आइपुग्थे नमिठो गरी ।
कुनै कुनै चोटहरुले उमेर नाघ्न
कहिल्यै नमान्दा रहेछन् ।
बाहिरैबाट बिसाएको मेरो प्रार्थना
सुन्यो वा सुनेन त्यसले
जसले कहिल्यै अड्कलमा नाप्न सकेन
मेरो दुःखको निस्सिम गहिराइ ।
उही घण्ट/उही मूर्ति/उही मन्दिर/उही पुजारी
आखिर …
चाहिएकै किन थियो र मलाई ?
उसो त कहिल्यै नसोचेको पनि हैन यसरी –
कि
मन्दिर त म आफै पनि बनाउन सक्थेँ
जन्माउँथेँ एउटा ईश्वर
र
थपिदिन्थेँ एक जोर उघारिएका आँखा ।