चन्द्रबहादुर लामा
विलय हुँदै गरेको हरियाली,
एक चिमोट झिल्का,
हरियो आर्तनादको,
बिस्तारै कोर्छ मनको भित्री तहमा,
जब विकासको अजङ्गको छायाले
निमोठिएको माटो,
अन्तिम सास फेर्दा छट्पटाइरहेको पाउँछु ।
दबाइएका छन्, किचिएका छन्
मौन चित्कारका स्वरहरुमा,
बतासले सुसेल्ने पातका मधुर गीत,
झरनाको छङछङ प्रतिध्वनि,
विलाप गर्दै छन्,
बोटबिरूवाका शिरा–शिरा,
आफ्नै अस्तित्वबाट विच्छेद हुनुको आर्तकथा ।
निभ्दै छन् माटोमुनिका
अव्यक्त, गुम्फित स्वप्न आकाङ्क्षा,
अज्ञात, अनाम भएरै,
हो, अज्ञात, अनाम भएरै
बिलाउँदै छ यहाँ
सृष्टिको कोखमा कोरिने
हाम्रो सभ्यताको जीवन्त अभिलेख ।
विलीन हुँदै गरेको हरियालीको
त्यो अन्तिम सुवास,
आद्र्र भूमिको स्पन्दन र आशा,
जीवित छ अझै पनि
माटोका कण कणमा, वर्षाका स्पर्शमा ।
कहिल्यै नसुक्ने जलधाराहरु,
आज शून्य ध्वनिका नदी भएका छन् ।
जल–ऐनामा नाच्ने सूर्य–रश्मि,
विषाक्तताको कुहिरोले ढाकेको छ ।
नदीको धमनीमा बग्ने जीवन–रस,
अब क्षतविक्षत स्पन्दन मात्रै बनेको छ ।
हे वसुन्धरा !
तिम्रो यो निःशब्दता,
कुनै अन्तिम महाकाव्यको विश्रामजस्तो ।
के हामीले कहिल्यै बुझ्न सक्ने छौँ ?
तिमीले ओकलिरहेको यो विराट् शून्यता,
जहाँ हरेक ध्वनि
एक विस्मृत, अपूर्ण सङ्गीत बन्ने छ ।
हे मानव !
तिमीले निचोरिरहेको यो प्राण–तन्तु,
कुन दिन तिम्रै अन्तरको रिक्तता बन्ने छ ?
त्यो महाविनाशअघि, सुन्न सक्छौ भने सुन,
यो विलयमान हरियालीको स्पन्दनमा
अवशेष बनेर गुन्जिरहेको सृष्टिको शाश्वत चित्कार !


