राजेन्द्र शलभ

हिँडेपछि न हो कहीँ पुगिने
हिँडेपछि न हो केही नयाँ अनुभव गरिने
हरेक यात्राले
केही न केही दिन्छ
मिठो या नमिठो सम्झना ।

यात्रामा थोरैले मात्र पनि
खुसी दिन सक्छ ।
जस्तो कि छेउको सिटमा
तपाईंमाथि ढल्केर सुत्ने
अपरिचित सहयात्री परेन भने,
नयाँ ओछ्यानमा
राम्रो निद्रा पर्यो भने,
जाडो यामको यात्रामा
बिहानै घाम लाग्यो भने,
आफूलाई मन पर्ने स्वादको
मिठो चिया खान पाइयो भने,
यत्तिकै खुसी हुन्छ–मन
हो ! धेरै चाहिन्न खुसी हुनलाई ।

र, दुःखी हुनलाई पनि धेरै चाहिन्न
जे सम्झेर पनि दुःखी हुन सकिन्छ
जस्तो कि –
बसको साटो हवाई यात्रा गर्न पाए
यति धेरै जिउ दुख्दैन थियो,
राति खाना पनि कस्तो नमिठो,
सिरानी पनि कस्तो अरअरो– निद्रै परेन,
बेकारमा यति टाढा आइयो
सोचेको जस्तो रहेनछ – यो ठाउँ,
समय र पैसाको खती मात्र
हो ! दुःखी हुन पनि सजिलो छ ।

हजुर ! यात्रामा
थोरैले पनि खुसी दिन सक्छ
अथवा धेरैले पनि दुःखी बनाउन सक्छ
तपाईंमा नै भर पर्छ
त्यो यात्राले तपाईंलाई के दियो ?
मिठो या नमिठो सम्झना ।

तपाईं सम्झिनोस् त–
पछिल्लो यात्राले तपाईंलाई के दियो ?

Facebook Comments Box

Similar Posts