विश्वविमोहन श्रेष्ठ
आहा ! कस्तरी खुलेको छ आकाश
निलो निलो समुद्रको
विशाल छातीजस्तो
माथि माथि तीनजुरेको
म अवाक् टोलाएर हेरिरहेछु
तल तल पल्टिएर
फलैँचामा जिरीखिम्ती२को
बिस्तारै बिस्तारै बिनाकुनै पदचाप
उडिरहेछ बगरैबगर
पिँगुवा३को यो धूपकुहिरो
देखिन्न केही
कस्तरी छोपेको छ यसले
मुहार तीनजुरेको
मुख खोँचैखोँच ओर्लंदै–उक्लँदै
आइपुगेको छु ।
पुरून्दिन४को नियास्रो पाखोलाई छिचोलेर
शिखरमा वसन्तपुरको
खुला/
सुनसान/
सर्वत्र एकान्त/
चकमन्न
मानौँ शान्ति छ/
मात्रै शान्ति
काखमा तीनजुरेको
म नियाल्छु
घामको सानो झुल्का
छस्स छिरेको छ
छोएर पसिनाको लफ्रक्क
धूपकुहिरोको पत्रपत्रभित्र पनि
यत्रतत्र
यहाँ त गुराँस छ ।
आहा ! लालीगुराँस
यत्रतत्र सर्वत्र
रातो/सेतो/बैजनी
त कतै पहेँलो
म हेरिरहेछु–
ओर्लिरहेछन् सुकुमारीहरु
आहा !
गुराँस सिउरेर चुल्ठोमा
लाली लिएर गालामा
मुस्कान लिएर ओठमा
ज्योति लिएर मुहारमा
मदमस्त/
मदहोस
म सोचिरहेछु
त्यो बैँस कसको हो
सुकुमारीको हो कि गुराँसको
म उनीहरुको लचकलाई हेर्छु र
सम्झन्छु
तीनजुरे तिमीलाई
म उनीहरुको कम्पनलाई हेर्छु र
सम्झन्छु
तीनजुरे तिमीलाई
म उनीहरुको फक्रँदो बैँसलाई हेर्छु र
सम्झन्छु
तीनजुरे तिमीलाई
म ढल्दो छु
निरन्तर ढल्दै गइरहेछु
तथापि यो ढल्दो उमेरमा पनि
म सम्झन्छु
सदा सम्झिरहन्छु
तीनजुरे !
त्यो लालीगुराँस र तिमीलाई !
तीनजुरे – २२ थरीको गुराँस फुल्ने तेह्रथुम जिल्लाको एक मनमोहक लेक
जिरीखिम्ती, पिँगुवा, पुरून्दिन – तेह्रथुम जिल्लाको सदरमुकाम म्याग्लुङ जाँदा बाटोमा पर्ने विभिन्न स्थल र नदीनालाहरु ।
Facebook Comments Box


