प्रमोद प्रधान
जङ्गलको छेउछाउबाट
चराहरुको चिर्बिर चिर्बिर सुन्दै
हिँडिरहेछु यात्रामा …
बादलका बुट्टाहरुसँग
गर्दै लुकामारी
उडिरहेछु आकाशमा …
हिँड्नुको आनन्द अनुपम छ ।
स्वाद लिँदै हिँडिरहेछु
उड्नुको मज्जा बेग्लै छ
निर्विघ्नताका साथ उडिरहेछु ।
हिँडिरहेछु …
र, पुगिरहेछु खोला र नदीका बगरहरुमा
तरेली परेका पहाडहरुमा
हिमाच्छादित हिमालहरुमा
तोरी लहलहराइरहेका समथर फाँटहरुमा
प्रत्येकपल्टको हिँडाइमा
लिइरहेछु फरक फरक अनुभव
मन्दिरमा पुगिरहेछु र
अनुभव गरिरहेछु स्निग्ध शान्ति
गुम्बामा पुगिरहेछु र
वार्ता गरिरहेछु आफ्नै मनसँग
हराइरहेछु–
अन्तुको सूर्योदयसँगै
हराइरहेछु–
कहिले फेवातालमा देखिने
माछापुच्छ्रेका तरङ्गित सौन्दर्यसँगै
अमरगढीका किल्लाहरुको सौर्य
अनुभव गरिरहेछु
सिन्धुलीगढीका रोमाञ्चक साहस–कथा
बाँडिरहेछु ।
टनकपुरमा पुगेपछि बल्झिन्छ पीडा
सुस्तामा पुगेपछि दुख्छ घाउ
तैपनि, हिँडिरहेछु म
आफ्नै देशको प्रकृतिसँग
आफ्नै देशको संस्कृतिसँग
यात्रारत छु आफ्नै भूगोलहरुमा ।
Facebook Comments Box

Similar Posts