किशोर पहाडी
आकाशमाथि उड्दै गर्दा
तिमीले भन्यौ–
‘म नेपाल घुमेर फर्कंदै छु ।’
ठमेल, पप, हेभीमेटल र ब्लुजको ध्वनि सुनेर फर्कंदै छु,
वसन्तपुर: जीवन्त कुमारी र मदहोस क्याफे हेरेर फर्कंदै छु,
माछापुच्छ्रे : घामको स्पर्शमा आँसु झार्दै गरेको देखेर फर्कंदै छु
सिट नम्बर 57A किन त्यति धेरै आकर्षक ?
नौ घण्टा लामो यात्रामा जब
तिमीले आफ्नो गाला झ्यालमा अड्यायौ,
छेकियो बाहिरको चन्द्रमा,
तर भित्र तिमी नै चन्द्ररुपमा देखियौ ।
केबिनका बत्तीहरु जब साँझ जस्तै ओभाउँदै गए,
इन्जिनको स्थिर र गुन्जनसँग उड्दै उड्दै हराउँदै गए,
तिस हजार फिट उचाइमा
एयर होस्टेजले स्कचको पेग जब दिइन् मेरो हातमा
चन्द्रमा तिम्रो केशराशिमा झुन्डिएको देखेछु
अपलक ।
अँध्यारैअँध्यारोमा टुङ्गिँदो यात्रा
पाङ्ग्राहरुले धावनमार्ग छुने तयारी गर्दा
यात्राको जादु समाप्त भएपछि पो सोध्दोरहेछु तिमीलाई–
‘तिमीलाई पोखरा कस्तो लाग्यो ?’
‘तिमीलाई ठमेल कस्तो लाग्यो ?’
आकाशमा छुटेको हाम्रो मौनता त
अझै छठब् मै पो बसिरहेको रहेछ
ह्यान्डक्यारीको खोजीमा ।


