उपेन्द्र भट्टराई
म अर्जुन होइन भीष्म हुँ,
अपराजयी भीष्म, मृत्युलाई जित्ने,
अधर्मलाइ साथ दिन बाध्य
अनि अधर्मकै सिकार ।
बाध्य छु म आफ्नो प्रतिज्ञा पूरा गर्न,
मेरो एउटै मात्र अधर्म हो,
हस्तिनापुरप्रति बफादारी ।
धर्मको व्याख्या गरेर नथाक्ने श्रीकृष्ण
स्वयम् मेरो अपराजयी स्वरुप देखेर
मलाइ मार्न सुदर्शन उठाउँदा
तिमीले गएर रोकेथ्यौ अर्जुन ।
तिमीहरु जुवा खेल्दा धर्मको ख्याल नराख्ने
हामीलेराख्दिनुपर्ने,
तिमीहरु स्त्री भोगविलास गर्दा
धर्मको ख्याल नराख्ने
त्यो पनि हामीलेराखिदिनुपर्ने
तिमीहरु आफ्नो महलमा अतिथि सत्कार गर्दा
जिब्रोको ख्याल नराख्ने
त्यो पनि हामीले नैराखिदिनुपर्ने,
अनि तिमीहरुले नै धर्मको ख्याल नराखी
मेरो मृत्युको लागि शिखण्डी अगाडि सार्दा
मैले नै धर्मको ख्याल राखी
आफू निशस्त्र भएर छाती थापिदिनुपर्ने ?
अब भन अर्जुन र कृष्ण
धर्मात्मा को हो
अर्जुन, कृष्ण वा अपराजयी भीष्म ?