उदय थुलुङ
(मङपो, भारत)

परापूर्व कालमा
बुद्ध हिँडेको बाटो रे यो
कृष्ण र राम पनि यै बाटो हिँडेका रे
हिँडेका थिए रे येसु पनि
राजा–महाराजा
परी र नर्तकीहरु हिँड्थे रे यो बाटो भएर

यही बाटोमा हिँडिरा’छु म
तर पत्याउनु हुन्नहोला, तपाईं
अहिले यसको टाउको छ
पुच्छर छ
र दुईओटा जिब्रो छ
अर्थात् मैले टेकेदेखि यसो यो साँप भएको छ ।

बाटो, यो साँप भएदेखि नै
ज्यान हत्केलामा छ दाइ,
दुइटा जिब्रो हेर्नोस् त त्यसको
बाटो फन उठाएर तेर्सिरा’छ
त्यो एउटा जिब्रो तपाईंको हुन सक्छ
अर्को मलाई हुन सक्छ ।

बाटो साँप बनेपछि
सुर्ता बढेको छ,
छोरो सहरमा पढ्छ
त्यहाँ झन् धेरै बाटाहरु हुन्छन्
कति ठुँङ्दा हुन् त्यसलाई
बाटाहरुले

छोरीलाई सुरक्षित ठाउँ कतै
देख्नुभएको छ भने
आश गर्छु दाइ,
घरको गनगन के भनूँ–
म नभएको बेला
एउटा बाटो आएर
सँघारमा सुतिबस्छ रे दिउँसो
म त खेततिर गइहाल्छु
धान, तरकारी, केरा के के
चाहिन्छ रे देशलाई
म त्यता हुन्छु, दिनभरि
तल्लीन
लखतरान
एकोहोरो ।

दाइ
म दुईपट्टिको गनगनमा चेप्टिएको छु
घरको
र देशको ।

अब सोच्दै छु दाइ
यस्तो मायावी बाटो नहिँडेर
बरू कुबाटैकुबाटो हिँड्नुपर्यो
कतै सोचेको ठाउँमा पुगिन्छ कि
आफू पनि ?

Facebook Comments Box

Similar Posts