दिलकुमारी डङ्गोल

बस्,
मलाई चामल केलाउनु थियो ।

नाङ्लोभरि राखेँ
र निफन्दै गएँ
भुसजति उडेर गयो हावासँगसँगै

भुसबाट छुट्यो
चामल, कनिका र बियाँ

सग्ला सग्ला चामल – ढिकुटीमा लगेर राखेँ
जो दिनहुँ चाहिन्छ – भातभान्छाका लागि

रह्यो कनिका र बियाँ

सुरक्षित छन्
ढिकुटीको एक कुनामा
छुट्टाछुट्टै भाँडामा राखेका कनिका र बियाँ

कुनै पनि बेला
यसको पनि खाँचो पर्न सक्छ ।

Facebook Comments Box

Similar Posts