मंसीर १३, काठमाडौँ । कुमार नगरकोटीको संस्मरण ‘जोगियाना’ लोकार्पण भएको छ । आफ्नो लेखन यात्राको २५ वर्षलाई ‘जोगियाना–उत्सव’को रूपमा मनाउँदै नगरकोटीको सो किताब सार्वजनिक भएको हो ।
पाटन दरबारको आँगनमा आयोजित नगरकोटी–उत्सवमा नगरकोटीले आफ्ना आधा दर्जन कविता र गीत सुनाए ।
संस्मरण लेखनको यात्रामा नगरकोटीलाई लेख्न प्रेरित गरी पत्रपत्रिकामार्फत पाठकमाझ पुर्याउन सहयोग गरेका मित्रत्रय यज्ञश, दीपक सापकोटा र वसन्त बस्नेतले ‘जोगियाना’को लोकार्पण गरे । दीपक सापकोटा र यज्ञशले किताबका अंश वाचन गरी सुनाए भने वसन्त बस्नेतले नगरकोटीको लेखनीबारे बोले ।
कार्यक्रममा नगरकोटीले आफ्नो किताबको साजसज्जा र डिजाइन गर्ने डिजाइनरद्वय सचिन यगोल श्रेष्ठ र उमेश काफ्लेको प्रशंसा गर्दै पुस्तक उपहार दिएर सम्मान गरेका थिए ।
नगरकोटीका १९ वटा संस्मरणहरूको यस पुस्तकलाई बुकहिलले प्रकाशन गरेको हो ।