मंसीर २४, धनकुटा । सल्लेरी साहित्य सङ्गमका अध्यक्ष रमेशचन्द्र अधिकारीको सभापतित्व धीरकुमार श्रेष्ठको प्रमुख आतिथ्य, भारती गौतमका विशेष आतिथ्य र प्रा. यज्ञप्रसाद गुरागाईंको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राध्यापक गुरागाईंले धीरकुमार श्रेष्ठबाट लेखिएको नेपाली साहित्यकाशमा हेमचन्द्र पोखरेल पुस्तकउपर विस्तृत रुपमा चर्चा प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, धनकुटाका साहित्यिक हस्तीका रुपमा उदाउनुभएका र यहाँको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएका हेमचन्द्र पोखरेलका विषयमा पुस्तक लेखिनु आफैमा गौरवपूर्ण विषय हो । उहाँ दिवङ्गत भएको लामो समय भएको भए पनि पुस्तकले उहाँलाई पुनः जीवित गरेको र सदा काल जीवित राखिरहने छ । उहाँले पुस्तकले प्रस्तुत गरेका खण्ड खण्डको केस्रा केस्रा केलाएर विश्लेषण प्रस्तुत गर्नुभयो । कार्यक्रममा भाग लिन धरानदेखि आउनुभएका लक्ष्मीकृष्ण राजभण्डारीले धनकुटामा सुस्ताउँदै गएको साहित्यिक वातावरणमा जागरण आउनुपर्ने विषयमा प्रकाश पार्दै हेमचन्द्र पोखरेलका विषयमा पनि चर्चा पुर्याउनुएको छ भन्दै प्रशंसा गर्नुभयो । रगतको नातासम्बन्ध नपर्ने व्यक्तिबाट पनि यस्तो किसिमको काम हुनु र छोटो समयमा धनकुटामा पुस्तकका बारेमा परिचर्चा हुनु सुखद संयोग रहेको बताउनुभयो । उहाँले धनकुटाले आफ्ना पिताजीका साथै अरु पनि साहित्यिक विद्वानहरुलाई बिर्सन नहुने बताउनुभयो । प्रमुख अतिथि श्रेष्ठले समय वैश्विक युगमा प्रवेश गरिसकेकोले अबको समयमा सबैको साहित्य विश्वका सबैको साझा भएकोले यिनको जगेर्ना हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो प्रयत्नलाई सबैले मन पराइदिनुभएकोमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा घनश्याम बराल, राजकुमारी चेमजोङ, वसन्त पोखरेल, रामबहादुर श्रेष्ठ, नरेन्द्र राई, लक्ष्मीकृष्ण श्रेष्ठ, कल्याण श्रेष्ठ, मानबहादुर भण्डारी, रमेश अमात्य, जनार्दन घिमिरे, कोकिला भण्डारी, भवानी श्रेष्ठ अमात्य, अञ्जु प्रधान, पार्वती अमात्य, सन्तवीर लामा, ईश्वर थापा, दीपक पोखरेल, रेणु पौड्याललगायतको उपस्थिति थियो ।

Facebook Comments Box

Similar Posts