साउन २५, काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधि पुरस्कार–२०८१ इतिहासकार एवम् साहित्यकार स्वर्गीय ज्ञानमणि नेपाललाई प्रदान गरिएको छ। शुक्रबार दाहाल यज्ञनिधिको छैटौं स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कृतिशेष स्वर्गीय नेपाललाई प्रदान गर्नुभएको हो। उक्त सम्मान ताम्रपत्र र एक लाख ५० हजार नगद स्वर्गीय नेपालका जेठा छोरा सन्तोष नेपालले ग्रहण गर्नुभयो। इतिहासकार नेपालको २०८१ जेठ १ गते मंगलबार निधन भएको थियो। पुरस्कार दाहाल यज्ञनिधि सुधा सदनका अध्यक्ष सुधा दाहाल र कुलपति राईले संयुक्त रुपमा प्रदान गर्नुभएको हो।
आफ्नो पितालाई देहवासनोप्रान्त प्राप्त पुरस्कार ग्रहण गरे लगत्तै छोरा सन्तोष नेपालले ‘वैयाकरण नेपाल प्रतिष्ठान’का अध्यक्ष एकमणि नेपाललाई रकम हस्तान्तरण गर्नुभयो । यो पुरस्कार रकमलाई ‘सिड मनी’ बनाएर ज्ञानमणि नेपालको नाममा इतिहास र साहित्यमा योगदान गर्ने स्रष्टालाई पुरस्कार प्रदान गर्नेगरी राख्ने घोषणासमेत उहाँले कार्यक्रममै गर्नुभयो ।
त्यसैगरी दाहाल यज्ञनिधि बाल प्रतिभा पुरस्कारबाट दरबार हाई स्कुलको कक्षा ८ मा उत्तिर्ण हुँदा नेपाली विषयमा सर्वोत्कृष्ट जिपिए ल्याउने छात्र दिनेश कार्की र छात्रा आस्ना पाण्डेलाई प्रदान गरिएको छ। २० हजार राशिको उक्त पुरस्कार छात्र र छात्रालाई संयुक्त रुपमा प्रदान गरिएको हो। बाल प्रतिभा पुरस्कार दाहाल यज्ञनिधिले लामो समय प्राध्यापन गर्नुभएको दरबार हाइस्कुलको कक्षा ८ बाट उर्तिर्ण हुँदा नेपाली विषयमा उत्कृष्ट जिपिए ल्याउने छात्रछात्रालाई हरेक वर्ष प्रदान गरिँदै आएको छ।
कार्यक्रममा डा. रमेश शुभेच्छुले सम्पादन गर्नुभएको कृति ‘दाहाल यज्ञनिधिको जीवनदृष्टि’ सार्वजनिक भएको छ। उक्त कृतिमाथि प्रा.डा जिवेन्द्रदेव गिरीले समीक्षात्मक मन्तव्य राख्नुभयो। मन्तव्यका क्रममा यस कृतिबाट दाहालको जीवनी व्यक्तित्व र कृतित्वलाई बुझ्न सहयोग पुगेको बताउनुभयो । कृतिका सम्पादक शुभेच्छुले लेखकहरु डा. वद्रीविशाल भट्टराई, प्रमोद प्रधान र दिनेश लुइटेललाई धन्यवाद दिनुभयो । संस्थाका उपाध्यक्ष समेत रहेका शुभेच्छुले संस्थाको परिचयसहित दाहाल यज्ञनिधि र इतिहासकार ज्ञानमणि नेपालको परिचय पनि प्रस्तुत गर्नुभएको थियो । उहाँले ज्ञानमणि नेपाल जीवनको अन्तिमघडिसम्म पढेको पढ्यै पढेको पढ्यै लेखेको लेख्यै गरेर आफ्नो समयका विशिष्ट प्राज्ञिक बौद्धिक व्यक्तित्व बनेको अभिप्रेरक पात्र रहेको बताउनुभयो । त्यस्तै उहाँले दाहालको र नेपालको उच्च स्वाभिमानी व्यक्तित्वमा साम्य रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै इतिहासकार एवम् प्राज्ञ दिनेशराज पन्तले नेपाली साहित्यका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको नाममा स्थापना भएको सम्मान उहाँजस्तै अर्का विशिष्ट प्रतिभालाई प्रदान गरिएको भन्दै खुशी व्यक्त गर्नुभयो।
कार्यक्रममा दाहाल यज्ञनिधिका कविता कवि दिल पौडेल, विनोदविक्रम केसी र प्रभा भट्टराईले वाचन गर्नुभयो। कार्यक्रममा दाहाल यज्ञनिधिकी आमा कृष्णकुमारी दाहाल, प्रा. डा. केदार न्यौपानेसहित नेपाली साहित्यका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।
दाहाल यज्ञनिधि सुधा सदनको अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्व र बालप्रतिभालाई सम्मान गरिँदै आएको छ। वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिनुभएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो।
उहाँका ‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), ’जदौ’ जीवनी र व्यक्तित्व केन्द्रित कृति (२०७६) र दाहाल यज्ञनिधिको जीवनदृष्टि (२०८१) प्रकाशित छन्।