भदौ २२, भक्तपुर । ‘सँझ्या : साहित्य’ को नियमित शृङ्खलामा यस पटक कविहरू छविरमण सिलवाल, दिलकुमारी डंगोल र सिजन श्रेष्ठले आफ्ना रचना वाचन गरेका छन् ।
शनिबार नयाँ थिठीमा आयोजित कार्यक्रममा कवि तथा नियात्राकार छविरमण सिलवालले ‘रङ’, ‘धुवाँको सिँढी’, ‘रूख’, ‘यो पृथ्वी कसको हो’ र ‘जब ठेकेदार हराउँछन्’ शिर्षकका कविता सुनाए । कार्यक्रमका अर्का प्रस्तोता कवि दिलकुमारी डङ्गोलले –‘दुर्गन्धको पर्खाल’, ‘धमिराहरूको म्याराथन’, ‘कालोकोट’, ‘शालिक र म’, ‘सुन्दर रात’ कविता मार्फत समसामयिक राजनीति र आफूलाई मनपर्ने जीवनको रङ कवितामार्फत प्रस्तुत गरेकी थिइन् भने कवि सिजन श्रेष्ठले ‘उड्ने खोलो’, ‘तिम्रो नाम’, ‘मानिसको अनुवाद’, ‘बोध एक अन्तर्य’ र ‘पाटन’ शीर्षकका कविता वाचन गरेका थिए । कार्यक्रममा सर्जक कमला डिसीज्यूले बोनस कविता र मुक्तक सुनाएकी थिइन् ।
विगत लामो समयदेखि कविहरू अभय, रामगोपाल आशुतोष, हरिहर तिमिल्सिना र नवीनप्रकाशको सक्रियतामा हुदै आएको सँझ्या : साहित्यले ‘कला र कविताका पक्ष’मा नाराका साथ हरेक महिना कविहरूलाई मञ्च प्रदान गर्दै आएको छ ।