जेठ ३, काठमाडौँ । प्रा. राजेन्द्र सुवेदीको नवीनतम कृति ‘भूमिका र समालोचना-केहि झलक’ को सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघु पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्तले समालोचना कार्य प्राज्ञिक र गहन बिषय भएकाले त्यो युग सापेक्ष हुनुपर्ने पर्नेमा जोड दिनुभयो । उहाँले कृतिकार सुवेदीसंगको सम्बन्ध पुरानो भएको र सो सम्बन्ध पुस्तककै कारण स्थापित भएको बताउनु भयो । “समालोचक केवल समालोचक मात्र हुदैन उ एक स्रष्ठा पनि हुन्छ त्यसैले समालोचकहरुले शास्त्रीय चिन्तनबाट मुक्त भएर समीक्षात्मक चेतलाई सबल बनाउन उचित हुन्छ भन्ने मेरो धारणा छ ।” उहाँले थप्नुभयो । उहाँले समालोचकहरु व्यक्तिगत आग्रह र मोह भन्दा माथि उठेर वस्तुनिष्ठ हुन सक्नुपर्छ र त्यो गुण कृतिकारमा रहेको भन्दै सुवेदीको प्रशंसा गर्नुपयो ।
कार्यक्रमका अर्का वक्ता प्रा. डा. रमेश भट्टराईले सार्वजनिक कृति माथि समीक्षात्मक धारणा राख्नुभयो । भट्टराइले कृतिकार सुवेदीको प्राज्ञिक स्तर र समालोचनात्मक चेत माथि प्रकाश पार्नु भयो । उहाँले सुवेदीमा सबै विधा भित्र छिरेर समालोचना गर्न सक्ने क्षमता रहेको बताउनु हुदै पाठात्मक समालोचना सुवेदीको सबैभन्दा सबल पक्ष रहेको कुरामा उहाँले जोड दिनुभयो । त्यसैले गरि उहाँले भूमिका लेखनको प्रशंग जोड्दै भूमिका लेखन हिजोको समिक्षा लेखन भन्दा भिन्न रहेको बताउनु भयो ।
कार्यक्रममा नुरगंगा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष प्रा. डा. गोविन्द शर्मा नेपालले सुवेदी एक सफल समालोचक मात्र नभई एक स्वाभिमानी व्यक्तित्व समेत रहेको चर्चा गर्नु भयो । उहाँले सुवेदी लेखनमा मात्र नभई सामाजिक गतिविधीहरुमा पनि त्यतिकै सक्रिय रहेको स्मरण गराउनु भयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कृतिका सर्जक सुवेदी लेखक, वक्ता र कर्मशीलता सबै रुपमा अबल रहेको बताउनु भयो । उहाँले सुवेदी आफ्ना लागि सधैं प्रेरणाको स्रोत रहेको बताउदै २०५३ सालमा प्रकाशित आफ्नो कविता कृतिमा सुवेदीले लेखिदिनु भएको भूमिकाको स्मरण गराउनु भयो । “उहाँको त्यो प्रेरणाले नै आफूलाई अझ बढी लेख्न उत्साहित बनाएको हो ।”, उहाँले थप्नुभयो ।
शुभकामना मन्तव्य राख्ने क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कृतिकार सुवेदी एक प्रेरणादायी व्यक्तित्व भएको बताउनु भयो । आफू इलाम क्याम्पस अध्ययनरत रहदा सुवेदी क्याम्पस प्रमुख रहेको स्मरण गर्दै उहाँको मार्ग दर्शनले आफ्नो जीवनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले सार्वजनिक कृतिको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा राजेन्द्र सुवेदी स्मृति सामाजका उपाध्यक्ष डा. रमेश सुवेच्छुकले कृतिकार सुवेदी धेरैका लागि प्रेरणाको स्रोत रहेको बताउनु भयो । सुवेदीमा आफू मुनिकालाई सधैं उत्प्रेरित गर्ने, आवश्यक सुझाव दिने साथै उनीहरुको सफलतामा खुशी हुने स्वभाव थियो, उहाँले भन्नुभयो । कोरोना कालमा सुवेदी दिवंगत हुनुभएको प्रशंग कोट्याउदै सुवेदीको दाहसंस्कारका लागि आर्यघाट केवल सातजना मान्छे मात्र उपस्थित रहेको उहाँले बताउनु भयो ।
कार्यक्रमका सभापति एवं राजेन्द्र सुवेदी स्मृति समाजका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीले सुवेदीको व्यक्तित्वको चर्चा गर्दै उहाँको अमरत्वका लागि परिवारले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
काठमाडौँ बागबजार अवस्थित मोडल कलेजमा आयोजित कार्यक्रमको संचालन समाजका सदस्य तथा साहित्यकार धीरकुमार श्रेष्ठले गर्नुभएको थियो भने एन्जिलिना घिमिरेले सुवेदीद्वारा लिखित एक कविता वाचन गर्नुभएको थियो ।


