भदौ २९, काठमाडौं ।  वर्तमान कविता समूह र शब्दाङकुर मासिकको संयुक्त आयोजनामा शब्दाङकुर मासिक पत्रिकाको २७५ औं हरित विशेष अंकको विमोचन तथा छोटा कविता वाचन कार्यक्रम सम्पन्न भयो । वरिष्ठ साहित्यकारद्वय मन्जुल र श्यामलको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा शब्दाङकुर मासिक पत्रिका हरित विशेष अंकको विमोचन गरिनका  साथै २१ स्रष्टा एवं सर्जकहरुले आफ्ना कविता प्रस्तुत गर्नु भएको थियो ।

कविता वाचनको शुरुवात गर्दै कार्यक्रमका विशेष अतिथि कवि मंजुलले आफ्ना दुई कविता प्रस्तुत गर्नु भएको थियो । उहाँले दक्षिण कोरिया भ्रमणका क्रममा रचना गर्नु भएको ‘सुरुङ’ र  अर्को  ‘मित्रता’  शीर्षकका दुई कविता वाचन गर्नु भएको थियो । कार्यक्रमका अर्का विशेष अतिथि कवि श्यामलले “नयाँ देवता” शीर्षकको कविता वाचन गर्नु भएको थियो । साहित्य सर्जक सुस्मिता नेपालले ‘आँशु’ र ‘टुक्रिएको आकाश’ शीर्षकका दुई कविता वाचन गर्नु भएको थियो भने  अर्का सर्जक मुरारी सिग्देलले ‘आशिर्वाद’ र ‘स्वर्ग र नर्क’ शीर्षकको कविता प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार प्रशून सिन्धुलियाले ‘प्रश्नहरु’ शीर्षकको कविता वाचन गर्नु भएको थियो भने अर्का टेकेन्द्र चेम्जोङले ‘आदिम ढुंगा’ शीर्षकको कविता प्रस्तुत गर्नु भएको थियो ।

वाचन कार्यक्रमका सहभागीहरु दिलकुमारी ढंगोलले ‘दुर्गन्धको पर्खाल’, बिनासिंह नेमकुलले ‘बैगुनी अंक’ र ‘बिक्रीमा’, रमिना श्रेष्ठ ‘सकुचा’ ले ‘म एउटा कविताको खोजीमा छु’, रमि प्रियाले  ‘मनमनै’ शीर्षकका कविताहरु वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी अन्य कविहरु जितेन्द्र रसिकले ‘जीवन एक शुन्य आकाश’, राम दाहालले ‘सरकारी काम’, ईश्वर थोकरले ‘सुष्मा मानन्धर’, पुर्षोतम घिमिरेले ‘अमूर्त प्रेम’, संजय सुमनले ‘बा’को गोजी’ र ‘समानान्तर’, विश्व सिग्देलले ‘विवशता’, अभय श्रेष्ठले ‘लुमन्ती’, प्रकाश दाहालले ‘उसले आफ्नो कविता लेख्न जानेकै छैन’ शीर्षकका कविताहरु वाचन गर्नु भएको थियो ।

साहित्यकार धीरकुमार श्रेष्ठले ‘मेरो भगवान’ शिर्षकको कविता वाचन गर्दै आयोजकको तर्फबाट कार्यक्रममा उपस्थित सबै प्रति आभार समेत व्यक्त गर्नु भएको थियो ।

काठमाडौं गौरीघाट स्थित किराँतेश्वर वनमा सम्पन्न कार्यक्रमका संचालक कवि चन्द्र लामाको ‘पुराना घाउहरु’ शीर्षकको कविता वाचनसंगै कार्यक्रमको समापन भएको थियो ।

Facebook Comments Box

Similar Posts