मङ्सिर २६, काठमाडौँ । गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

ओमप्रकाश राईले संगीतबद्ध गरेको गीतलाई गायिका पेमा शेर्पा राईले गाएकी छन्।

गीतलाई सन्तोष प्रगाढ राईले एरेन्ज गरेका छन् भने गीतको इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन्। गीतले त्यागिए पनि उनकै खुसीमा रमाउन खोज्ने प्रेमिल भाव प्रस्तुत गरेको छ।

यसअघि २०७५ मा शिला खनालले ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ भन्ने गीतकार राईको गीत गाएकी थिइन्। त्यस्तै २०७९ मा मनमा बि राई र २०८१ मा नवराज पराजुलीले पनि ‘सञ्चो छौ कि विसञ्चो’ राईकै गीत गाएका थिए।

दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका राई पत्रकारिता र साहित्यमा सक्रिय छन्। साहित्यका विविध विधामा कलम चलाउने उनका ‘पोलेको मकै’ (२०७८) र ‘टोली नेता’ (२०७४) दुई बालकथासंग्रह प्रकाशित छन्।

गीतकार राई ‘लघुकथा सौन्दर्य’ मार्फत लघुकथाको उन्नयनमा लागेका छन्। ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) सामुहिक लघुकथासंग्रहमा उनका केही लघुकथा संगृहीत छन्। राईको संयोजन तथा विमल भौकाजीको सम्पादनमा तयार भएको सामुहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ।

रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष समेत हुन्।

Facebook Comments Box

Similar Posts