१. आशीर्वाद
पण्डित, पुरोहित, पुजारी
जजमानलाई
अर्को जन्मलाई
सुख हुन्छ
शान्ति हुन्छ
समृद्धि हुन्छ
भनेर दिँदै छन्
उधारो आशीर्वाद ।
उनीहरुले दक्षिणा
नगद लिँदै छन्
तत्काल
सपना बाड्ने नेता
र पुरोहित उस्तै
देख्छु म ।
एउटा धर्मको दुहाइ दिँदै छन्
अर्को देश र जनताको
२. स्वर्ग र नरक
कसैलाई
दुःखमा दुःख जोडे
दुःख घटाए
शेष रहने त
दुःखै हो ।
यहीँ गाउँ ठाउँमा
कसैलाई
सुखमा सुख जोडे
सुख घटाए
शेष रहने त
सुखै हो ।
जति कर्म गरे पनि
नरक छ, एउटालाई
स्वर्ग छ, अर्कोलाई
म के भनौँ आफैलाई ।
३. नदेखिने घाउ
गोलीले शरीर छेडे
घाइते
मर्न पनि सक्छ
घाउ निको हुन पनि सक्छ ।
बोलीले मन छेडे
मर्न सक्दैन
जिन्दगी रहेसम्म
धाइते भइरहन्छ
नदेखिने घाउ बोकेर
म घाइते योद्धा हुँ ।
४. साम्यवाद
महासेठको कारमा
एउटा कुकुर
भट्याउँदै छ
स्वतन्त्रताको नारा
भौँ भौँ भौँ
अर्को भोको मान्छे
रूग्ण र जीर्ण शरीर
बचाउन खानेकुरा खोज्छ ।
फोहोरको डङ्गुरमा
साम्यवादको नारा
कहाँ फिट हुन्छ ? कमरेड