• रमी प्रिया

कतै टाढाबाट उड्दै आएको
नसुहाउने रङ पोतेर जिउभरि –
सहरको मध्यचोकमा उभ्याएर आफूलाई
व्यस्त छ एउटा बडेमानको मल्टिप्लेक्स !

रित्याउँदै पर्सलाई हतारमा
पर्तिरको पेटी ताक्दै ओर्लिएको एउटा मान्छे
एक मुठा सागको मोलमोलाइमा भिडेर
अझै ओर्लिरहेछ समवेदनाका सिँढीहरु…
मानौँ, बन्नु छ उसलाई आफै सस्तो
वा बनाउनु छ अरु कसैलाई अझै सस्तो…

सन्नाटाले गाँजेको कोलाहलबिच
झर्झराउँदो मुठो दिएर
ओइलिएको नोट टिप्छिन् आमा ।

चिसोले च्याप्दै लगेको सहरसँग
गुनासो पनि के गर्नु र
ती थाकेका आँखाले ?
मात्र, झरिदिन्छिन् दुई थोपा भएर
ठिहीले –
छैन जस्तै भएका आफ्ना औँलाहरुमा ।

सम्हाल्दै आफूलाई
सम्झन्छिन् –
घर पुग्नु छ
चुल्हो फुक्नु छ
भोलि फेरि साग मुठा पार्नु छ
अलिकति भए पनि
चिसिँदै गएको यो सहरको आँत तताउनु छ ।

Facebook Comments Box

Similar Posts