यादवप्रसाद कोइराला
मन निर्बन्ध छ
छिनमा अमेरिका
छिनमा युरोप
छिनमा अस्ट्रेलिया
छिनमा अफ्रिका
न छेक्न सक्छ सिमानाले
न चाहिन्छ भिसा मनलाई ।
आज मन कर्णाली पुगेको छ
बुलबुलेको हिउँमा गाडी ठेल्दै
सम्झँदै छ भारीसहित डोल्पा हिँडेका बटुवालाई
अझै कोसौँ टाढाको यात्रा तय गर्नु छ
मन अहिले बुलबुलेको रोक्का दिदीको होटलमा
लोकल कुखुरासँग मार्सी चामलको भात खाँदै छ
अनि रारा तालको रसास्वादन गर्दै छ मन ।
फेरि तत्क्षण मन अस्ट्रेलिया पुगेको छ
अनि मनले लटरी खरिद गरेको छ
भोलि मिलियन डलरको चिट्ठा पर्दै छ
कहाँ लगानी गर्ने ?
कसलाई कति दिने ?
हिसाबकिताब गर्दै छ मन
चिट्ठा परिसक्यो
अब घुम्दै छ मन
एन्टार्कटिकाको हिउँमा रमाउँदै
फ्रान्सको आइफेल टावर
इजिप्टको पिरामिड
रूसको सेन्ट पिटर्सवर्ग
लन्डनको ग्रिनबिच
चाइनाको ग्रेटवाल
तिब्बतको पोताला
इन्डियाको ताजमहल
अनि नियाग्रा फल्समा
हरियो रेनकोटमा सजिएर
रातो रेनकोटलाई नियाल्दै
डुङ्गाको सयर गर्दै छ मन
कुदिरहेको छ बेलगाम घोडाजस्तै
छिनमै वरोसा भ्यालीको वाइनको चुस्की लिएर
छिनमै रोटोरूवाको भोल्क्यानो हेर्न पुग्छ मन
एकै छिन फुर्सद छैन मनलाई
म भने थकित छु
यता पल्टिन्छु
उता पल्टिन्छु
झिमिक्क भएको छैन आँखा
अहो ! सोच्दै छु
बिहानै उठेर जानु छ काममा ।