चन्द्रबहादुर लामा

हरेक वर्षजस्तै
यसपालि पनि आइपुगेको छ टुप्लुक्क
भित्तेपात्रोको नयाँ पन्ना
हुलाकीले झैँ
लिएर दसैँको खबर

बेखबर भित्तेपात्रो
यसपालि देशलाई जुठो परेको छ ।
बाली बिग्रिएर बिग्रिएको याम
घरबार सोहोरिएर पहिरो गएको महिना
आफन्त बगाएर बगेको दिन
शोकमा डुबेको देश,
बेखर भित्तेपात्रो
रगतले लतपतिएको दिन र
आँसुले भिजाएको पुरानो महिना छोप्दै
पल्टाउँदै छ नयाँ महिनाको नयाँ पन्ना

नयाँ पन्नामा मुस्कुराउँदै सत्ता
पहिरोले पनि पुर्न नसकेको कुर्सीमा बसेर
गर्दै छ हिसाब गन्दै कमिसन
बिग्रेको बालीमा,
भत्केको सडकमा,
पुरिएका घरमा,
बेपत्ता नागरिकमा
खोज्दै छन् दसैँको बोनस भत्ता

पल्टिए पनि नयाँ पन्ना
पुराना घाउहरु
सड्दै छन्
सत्ताको खेलमा ।

Facebook Comments Box

Similar Posts