निहाङ किराती
(शिवसताक्षी १, झापा)

सरकारले !
सुचीकृत गरेको राष्ट्रिय निकुञ्जमा
दगुरेको, उफ्रेको देख्छु मृगका ताँतीहरु
लाग्छ गतिको सङ्केत तेज भाग्नु हो ।

सेफ जोनमा उफ्रे जस्तो
आहार खाइ दौडे जस्तो
मृगका ती जोर जोर खुट्टाहरुमा
कति अदम्य उफ्राइ
लाग्छ उफ्राइको नतिजा रमाउनु हो ।

घरी घरी,
बेस्कन दौडिन्छन् मृगहरु
झुल्किन्छ अकस्मात बाघ
आमुनेसामुने पहाडजस्तै बन्यो परिस्थिति
एउटा भाग्छ डरले
अर्को लखेट्छ आहारले

परिदृश्यमा,
भय, आशालाग्दो भागदौडमा
एउटाले जित्छ आहारको लागि
अर्काको जीवन सकिन्छ

आखिर,
जीवन बाच्नु र मर्नुबिचको डर रहेछ ।

Facebook Comments Box

Similar Posts