अजम प्रधान
(मिरिक, दार्जिलिङ, भारत)
खराब खराब नै हुन्छ
त्यो श्यामपटमा पोखिएका
सेता चकका धुला होस् या
श्वेत कागजमा पोखिएका
काला स्याहीका थोपा होस्
दुवैले धरातल खराब गर्छ ।
चोट चोट नै हुन्छ
त्यो सानो काँडाले खोर्सिएको
पिप्से चोट नै किन नहोस् या
धारिला हतियारको प्रहारले
फ्यालेकै काटिएका घाउ होस्
दुवैको पीडा त एउटै हुन्छ ।
बदनामी बदनामी नै हुन्छ
त्यो सानो गल्तीले होस् या
कुनै ठुलो धोकाघडी गर्दा होस्
दुनियाको नजरमा त्यो
अपराधी नै हुन्छ ।
दाग दाग नै हुन्छ
त्यो सेतो लुगामा लागेको
हिलोको दाग होस् या
सुन्दरीको चरित्रमा लागेको दाग
मान्छेको नजरमा त्यो
दाग नै हुन्छ ।
त्यसैले त
खराब खराबै हो
चोट चोटै हो
दाग दागै हो
अपराध अपराध नै हो
बदनाम बदनाम नै हो,
त्यसैले त सबैसँग भन्छु
नलागोस् दाग,
नहोस् बदनाम,
नदुखोस् चोट
नहोस् खराब,
जीवन नबनोस् सराब ।