सागर फुयाल
बर्लिन, जर्मनी।
सक्ने भए मान्छेले
माथि पुग्न भर्याङ् पनि चढ्दैनथ्यो
भ्यागुते छलाङ् मार्थ्यो
एक्कै पटक माथि पुग्थ्यो
भर्याङ् चढ्ने दुख किन गर्थ्यो?
सक्दैन,
विवश छ
त्यसैले त उ
भर्याङ् खोज्छ
भर्याङ् चढ्छ!
खुट्किलो चढ्छ मान्छे
अनि, खुट्किलोमा जमेका
लोभ र घमण्डका विषाणुहरू
चढ्न थाल्छन् पैताला हुँदैं
विस्तारै उसको शीर तिर!
जति धेरै खुड्किलो
त्यति जब्बर विषाणुहरू!
आखिरमा,
खुट्किलो सकिन्छ
चढाई सकिन्छ
बढाई सकिन्छ
चढ्नु अघिको निश्छल मान्छेमात्र हैन
चढ्दा चढ्दै बाँकी बचेको मान्छे पनि सकिन्छ
रहन्छन् त केवल
सफल आरोहणको
उन्मुक्त उत्सव मनाईरहेका
लोभ अनि घमण्डका
तिनै परपिडक विषाणुहरू !