भारती न्यौपाने
(हात्तीवन, ललितपुर)

मुस्कुराउँछे
साँझपख गुँड फर्किएकी सुत्केरी चरी
झिसमिसेमा फट्फटाउने
पखेटाका फट्फट नयाँ धुनहरु कल्पेर ।

कुर्दै छ क्षितिजमा उभिएर
त्यही पहेँलो घाम
अरूण आभाहरु पृथ्वीभरि पोख्ने आशामा ।

चिसिएको हिमाल
न्यानो स्पर्शको मिठो पर्खाइमा
टुसुक्क बसेको छ सम्झिएर उषालाई ।

भोलिको प्रतीक्षामा मग्नमस्त बनेको
शान्त र स्निग्ध सम्मोहित यो साँझ बोकेर
खोलालाई भनेकी छु—
बिस्तारै सुसाऊ – बुढी आमा झुपडीमा भर्खरै आराम गर्दै छिन्
हावासँग साउती मारेकी छु
सङ्गीतमा लोरी भर्नु सानु नानी भर्खरै सुस्ताएकी छिन् ।

पातहरु मुस्कुराएर शीतको प्रतीक्षामा उभिएका छन्
रातहरु अँगालो फैलाएर धर्तीमा लमतन्न छन्
आकाश सिताराका चमकमा रोमाञ्चित छन्
भनेकी छु आकाशलाई नगड्गडाउनू
अबदेखि साँझपख !

अँध्यारोलाई साथ लिएर
उठेका छन् मेरा आकाङ्क्षाहरु
सुटुक्क सम्झाएकी छु अँध्यारोलाई
तिम्रा पदचापले निदाएका सारा जगत्
त्रासमा नबिथोलिउन् ।

विचारको तरबारले रेटिँदा
म चाहन्छु—
उदाओस् अब एउटा नयाँ बिहानी
आभासँगै क्रान्तिको
हत्केलाभरि बोकेर प्रीतिको गीत ।

Facebook Comments Box

Similar Posts