निर्मोही व्यास

झरेको फूल सम्झेर काट्न गाह्रो छ जिन्दगी
फक्रेको फूलका साथ साट्न गाह्रो छ जिन्दगी
बाटेझैँ प्रीतिको डोरी बाट्न गाह्रो छ जिन्दगी
ढांटेझैँ दुनियाँलाई ढाँट्न गाह्रो छ जिन्दगी ।

कसैलाई यहीँ अग्लो स्वर्णको दरबार छ
कसैलाई यहीँ ओत्नछाप्रोको दरकार छ
कसैलाई यहीँ जून चुम्न जाने हतार छ
कसैलाई यहीँ ज्यून यन्त्रणा नै हजार छ ।

नखाऊँ, कष्टले ठूलो पाइएको सिकार छ
खाऊँ, दुरूस्त नै कान्छा–बाबुको अनुहार छ
जिन्दगी हो उही किन्तु कसैलाई प्रहार छ
कसैलाई यही फेरि अमूल्य उपहार छ ।

फूल्दैनन् भागमा आफ्नो न जुही न सुनाखरी
अरुको स्वर्ग हेरेर बुझोस् चित्त कसोगरी !
‘हाँसोको चाँदनी थोरै छ धेरै आँसुको झरी’
जिन्दगी सिस्नुघारी हो अथवा गुनकेसरी ?

जिल्लिन्छु जिन्दगानीको वर्णमाला पढीपढी
किन हो फूलको भन्दा काँडाको सम्झना बढी ?
घोत्लिऊँ जत्ति पाउन्न मेरो यो प्रश्नको हल
जिन्दगी बुझ्न गाह्रो छ लगाएर मुढेबल ।

स्मृति–विस्मृतिका छाल उर्लिराख्छन् घरीघरी
बिपना सपनाजस्तो सपना बिपनासरि
बुझ्यो जत्ति अझै बुझ्न बाँकी दोब्बर तेब्बर
ए जिन्दगी ! तँ आफै दे मलाई स्पष्ट उत्तर ।

Facebook Comments Box

Similar Posts