ज्ञानुवाकर पौडेल
आसन्न मृत्यु खोकिराख्यौ
बोझ जिन्दगीको बोकिराख्यौ ।
गाँस्यौ नाता अँध्यारोसित
उज्यालो सधै खोजिराख्यौ ।
त्यत्तिका उमेर बाँकी छँदै
कात्रोमा किन गोजी राख्यौ ।
पलायन हुँदा विदेशी तर
बगाएनौ आँसु रोकिराख्यौ ।
सुहाएन खै तिम्रो पोशाक
लगाएर क्याप टोपी राख्यौ ।
इज्जत लुटिंदा द्रौपदीको रोजै
आँखा आफ्नो छोपिराख्यौ ।
मेरो प्रार्थना सुन्न चाहेनौ
नबोल्ने देउता ढोगिराख्यौ ।