सूर्यकुमार पण्डित
गाईजात्रा दिन दिन हरे ! धन्धुकारीहरुको ।
नाङ्गै नाच्छन् महसुरहरु लाज भन्ने नभा’को ।।
भ्रष्टाचारी कलुष जनले साधुलाई कजायो ।
नाकै काटे अधम जनले लाज आफै लजायो ।।
हाम्रो सानो मुलुकभरमा सात टुक्रा बनायौ ।
खाली आफ्ना नवटहलुवा भर्ति केन्द्रै बनायौ ।।
ऐलेको यो नवप्रविधिमा सातको काम के हो ?
खर्चै मात्रै उपति हिनले लाज आफै लजायो ।।
हे नेता हो ! उदर भरूवा लोभमा लोभिनाले ।।
हामी ज्यादै गरिब भइयो लठ्ठुवा शासनैले ।
कामै नास्ती बहुत तनखा सर्मले सर्म भाग्यो ।
खाली कालो धन बटुलने लाज आफै लजायो ।।
काण्डै पो ती कति कति भए नाक हाम्रो कटाए ।
व्यापारीले नटबरहरु लास नाङ्गै नचाए ।।
नेता देख्दा शिर निउरियो सर्मले होस भाग्यो ।
चुत्थो बोल्छन् हरलठकझैँ लाज आफै लजायो ।।
झाडा लागे भि.भि. जनहरु जानुपर्ने विदेश ।
भोकानाङ्गा जन डहरमा रात काट्छन् महेश ।।
नेता नाचे पर हुकुममा लाजले सर्म भाग्यो ।
लाजै मर्दो हुनुपरिरह्यो लाज आफै लजायो ।।
नेपालीले उपति नगरी खान मात्रै रमायौँ ।
यौटा बाटो हसरल गरी बेकुबी पो कमायौँ ।।
नेपालीको गहन गरिमा नाक हाम्रो कटायो ।
सारा देख्दा सरम हुनगो लाज आफै लजायो ।
(मन्दाक्रन्ता छन्द)