- शैलेन्द्र साकार
पहाडबाट ठुलो आवाजका साथ
हामफाल्दै दौडिरहेको अरूणमा
निश्शब्द भए ६८ आवाज
योगमायासँग ।
उनीसँगै हामफाल्ने अरु थुप्रै
बाह्रचौध वर्षका सुकुमार
बालबालिकाहरुको
किन कतै चर्चा हुँदैन ?
आमाको सारीको सप्को समात्दै
अरूणको उर्लंदो भेलमा
आमासँगै निश्शब्द बिलाएका
ती कलिला किशोरकिशोरीहरु
मेरो सपनामा आउँछन् र
बाँकी जिन्दगी माग्छन्
बाँकी रहेको आयु माग्छन्
सपनाहरुको पुलिन्दा खोज्छन् ।
मझुवाबेँसी, नेपालेडाँडामा फुल्ने
गुराँसका फूलजस्ता नानीहरु
ऋतम्भरा जवानी माग्छन्
जीवनको दुःख र दुःखभित्र
मौलाइरहेको सन्तुष्टि र सुख माग्छन् ।
ईश्वर पनि परपीडक भएको
त्योबेला
अरूणको भेलमा हुत्तिँदै
यौवनको उचाइ र उत्तरार्धको
दर्शन माग्छन्
जवाफ छ तिमीसँग योगमाया
छ तिमीसँग मेरो प्रश्नको जवाफ ?