बाबुराम श्रेष्ठ यात्री
(सिन्धुली)

पृथ्वीमा उज्यालो नखस्दै
पाखाभरि उक्लन्छ हाम्रो बिहान
घामसँगै सुत्छ सपना
खुला चौरमा/वनजङ्गलमा
अकासे छानो हालेर
र भोलिपल्ट बाआमासँगै
हाम्रो दुःखको चक्र चल्छ
र सिक्छौँ
आमासँग – जीवनका रङहरु घोल्न
बासँग – सङ्घर्षका कथा बटुल्न्न
पाठशालासँग– समस्या समाधान गर्न
अनि समयसँगै दगुरिरहेको
जीवनरुपी जीर्ण चर्खा
तल–माथि चलाइरहन्छौँ
अक्करे भिरहरुमा

हामी हामीमै ठिक छौँ – चेपाङ
दुःखका पहाड निल्छौँ
बरू नभनी देऊ न प्रजा
किनकि हराउन चाहँदैनौँ हामी हाम्रो मौलिकता
हामी सिमेभुमेदेखि रूख थानी मान्छौँ
लाएर प्रीति वनजङ्गलसँग
माटो बोल्छौँ
प्रकृति बोल्छौँ
प्राकृतिक धर्म मान्छौँ
खोरिया खन्छौँ÷जोत्छौँ
न्वागी खान्छौँ
प्रकृतिको अनुपम उपहार
निबुवा, बिमिरो, पिँडालु, घैया धान
प्रीतिसँग साट्छौँ
चिउरीको बोट हाम्रो पहिचान ठान्छौँ
हाम्रो जीवनशैलीको पृथकताले
हामी चेपाङ भएका हौँ

अरुलाई सहर मन पर्छ होला
हामी भिरालो गाउँ मन पराउछौँ
हरियाली बेर्छौं
स्वस्थ हावा सुसेल्छौँ
एक आयु बढी बाच्छौँ

जानुपर्दैन हामीलाई
आँखाको रतन्धो हटाउन कुनै सफारी वा भ्रमण
हामी कञ्चन पानीजस्तै
बगिरहन्छौँ बेसरम
आफ्नै पदचाप पछ्याउँदै
युगदेखि युगसम्म

गुन्यु–चोलो या दौरा–कछाड
हामी भिर्छौँ – कम्मरमा काठको खुर्पीठ्याक
हामी गाउँछौँ– लोकसंस्कृति
खान्छौँ गिट्ठाभ्याकुर
चाहिँदैन कुनै आलिसान महल
बस्छौँ एकतले ढुङ्गा÷खरले छाएको घरमा
बाच्छौँ प्राकृतिक
हामी गर्व गर्छौं –चेपाङ हुनुको
र पो गाउँछौँ चेपाङको गीत ।।

Facebook Comments Box

Similar Posts