• प्रमोद सारङ्ग

म कुर्सीप्रधान देश
बेमौसममा आली लाग्छु
बेमौसममा बाली लाग्छु

गरिब जनताका आँसु, पसिना र रगतले
सिँच्नू मलाई
मभित्रका प्रत्येक बाँझा खेतखलिहानलाई
मेरा अनन्त बन्जर भविष्यमा
भोक, रोग र शोकको सहयात्री बनेर
भारीका भारी आश्वासनका मल हाल्नू ।

गवाँरो लाग्न सक्छ हजुर
दिनरात चाकडी, चाप्लुसी र स्वार्थको
औषधी छिटिरहनू
फसल बिग्रिन सक्छ हजुर
नातावाद र कृपावादको रणनीतिले
छेकबार लगाइरहनू
त्यसैले त म कुर्सीप्रधान …

म्यानपावर र बहुराष्ट्रिय कम्पनीले
आयात र निर्यात गरिरहने
जनताका नुनिला हाडमासुजस्ता
रेमिट्यान्स भरिरहनू
भकारीजस्ता शासकका पेट
मेरा प्रत्येक गरा गरामा मौलाएका
स्वाधीनता र पराधीनताका सपना हुन्
नगदे र बर्से बाली ।

Facebook Comments Box

Similar Posts