शेखरकुमार श्रेष्ठ
(दक्षिणकाली, फर्पिङ, काठमाडौँ)
देश
गैँडाको खाग र मांसाहारीको
आहार होइन
देश
गाईको दुध होइन
जसलाई
दुहेर झिकी बेच्न
दही बनाई पञ्चामृत बनाएर
प्रसादझैँ भाग लगाई बाँड्न ।
देश
जागिर होइन
जहाँ कर्मचारीले
दशपाँचको काम गर्न
देश
तमसुक र बैना पनि होइन
भोगचलन
खरिद र बिक्री गर्न ।
देश
मादल र सारङ्गी हो
बजाउँदा र रेट्दा पनि
हृदय झङ्कृत हुन्छ
देश
देउडा र धान नाच हो
नाच्दा पनि झल्कन्छ ।
देश
जात्रा र पर्व हो
पूर्वपश्चिम थर्कन्छ
देश
मिथिला र काष्ठमण्डप हो
हृदयको प्रतिनिधि बन्छ
देश
धर्म, वेशभूषा र बोलाइ हो
यसमा पुर्खाको
वीरता, साहस र स्वालम्बन देखिन्छ ।
देश
कपिलमुनि, बुद्ध, जनक र गार्गी हो
देश पृथ्वी र उसको अनुयायी हो
देश जनता हो ।
देश
चौबिस घण्टा
निरन्तर नथाकी चल्छ
देश भूगोल पनि हो
यसमा मूर्त वस्तु
अमूर्त भावना हुन्छ
देश
रहनसहन र चालचलन हो ।
देश
देशमा बस्ने जनता हो
जसबाट देश संरक्षित छ
खासमा देश
देशभक्त नागरिकको
आवाज र भावना हो ।