त्रिलोचन सुवेदी
(बर्दिया)
देशले जितेछ भने
दलौँला अनुहारभरि अबिर
बजाउँला घन्काएर नौमती बाजा
मनाउँला केही दिनको राष्ट्रिय उत्सव
बिर्सौंला खुट्टाको गोलीगाँठोमा लागेको गोलीको चोट
बिर्सौंला प्रहरीको लठीले हानेको रातो डाम
बिर्सौंला भाइ गुमाउनुको पीडा
देशले जितेछ भने
आमा ! तिमी र हामी
सँगै धुमधामले मनाउँला है
सहिद दिवस
सम्झिराखौँला उनीहरुको योगदान
दलौँला उनीहरुको शालिकमा पनि
बडो गर्वले रातो अबिर
सयौँ थुँगा फूल उनिएको
बडो सुन्दर माला
लगाउँला उनीहरुको शालिकको गलामा
उनीहरुले पनि महसुस गरून्
करोडौँ नेपाली एक भएको
फूलको थुँगा
एक भएर माला बनेको जस्तै
आमा ! तिमीले जसरी भए पनि
देश जिताउनू है
देशले जितेछ भने
यो देशले फेरि एकपटक
एक सपुत जन्माउने छ
देशले जितेछ भने


