जेठ २४, काठमाडौं । किरण पुस्तकालय, तम्घास, गुल्मीको साहित्यिक प्रकाशन ‘हाम्रो पुरुषार्थ’का प्रधान सम्पादक शशी पन्थीको सभापतित्व, प्रा.डा. गोविन्दराज भट्टराईको संयोजकत्व, भारत, आसामका साहित्यकार ज्ञानबहादुर छेत्रीको प्रमुख आतिथ्य, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसी भट्टराईको विशिष्ट आतिथ्य, प्रा.डा. ज्ञानु पाण्डेको आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘हाम्रो पुरुषार्थ’को भारतीय नेपाली साहित्य र साहित्यकार विशेषाङ्कका रुपमा प्रकाशित १०५ औँ सम्पूर्णाङ्क लोकार्पण गरियो ।
हरि गौतमको सञ्चालन रहेको उक्त कार्यक्रममा प्रधान सम्पादक शशी पन्थीले किरण पुस्तकालय स्थापना गर्दाको इतिहास र त्यहाँबाट प्रकाशित हुन थालेको ‘हाम्रो पुरुषार्थ’का विषयमा प्रकाश पार्नुका साथै यसका उपलब्धिका बारेमा प्रकाश पारे । तत्पश्चात् शरद प्रधान, नारायणप्रसाद फुयाल, राधेश्याम लेकाली, रामप्रसाद पन्त, नवराज रिजाल, विमल भौकाजी र जयदेव भट्टराईले शुभकामना प्रकट गरे । शुभकामना प्रकट गर्ने क्रममै धीरकुमार श्रेष्ठले उक्त पत्रिकाका प्रधान सम्पादक शशी पन्थी करिब एक महिनाको छोटो अवधिका लागि भए पनि आफ्नो पहिलो क्याम्पस प्रमुख रहेको र उनका भाइ दीन पन्थी अब्बल साहित्यकार रहेको प्रसङ्ग उल्लेख गर्दै २०४० सालदेखि ‘हाम्रो पुरुषार्र्र्थ’सँग नजिकबाट परिचित रहेको विषय उल्लेख गरे । यसै गरी अनिता कोइरालाले ‘हाम्रो पुरुषार्थ’मा प्रकाशित महिलाका लेखका बारेमा चर्चा गरिन् भने विष्णु ओलीले मुक्तक वाचन गरे ।
प्रा.डा. ज्ञानु पाण्डेबाट उक्त पत्रिकामा प्रकाशित लेखहरुका बारेमा समीक्षकीय मन्तव्य व्यक्त गरियो भने प्रमुख अतिथि ज्ञानबहादुर छेत्रीले भारतीय नेपाली साहित्यको अवस्था र यसका दुवैतर्फका सम्बन्धसेतुका बारेमा उल्लेख गरे । असमीया भाषाले भारतमा शास्त्रीय भाषाको दर्जा प्राप्त गरेको प्रसङ्गमा नेपाली भाषाले पनि यसका लागि प्रयास गर्नुपर्ने उनको विचार थियो । संयोजक प्रा.डा. गोविन्दराज भट्टराईले ‘हाम्रो पुरुषार्थ’सँगको संलग्नताका साथै भारत र नेपाल दुवैतर्फको नेपाली साहित्यको ऐतिहासिकताका साथै वर्तमानमा यो सम्बन्ध अझ प्रगाढ बन्दै गएको र भारतीय विश्वविद्यालयहरुमा नेपाली भाषा र साहित्यको अध्ययनअध्यापनले यसलाई झन् सुदृढ बनाउँदै लगेको विचार व्यक्त गरे ।
राजधानीदेखि टाढा रहेर पनि विगत ५२ वर्षदेखि गुल्मीको तम्घासबाट उक्त पत्रिका प्रकाशित भइरहनु वास्तवमै प्रशंसनीय छ ।