जेठ ६, काठमाडौं । साहित्यकार वियोगी बुढाथोकीको पाँचौँ नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । नेपाली लेखक संघका अध्यक्ष समेत रहेका उनका यसअघि १७ पुस्तक प्रकाशित छन् ।मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नियात्रा समाजका अध्यक्ष मोहन चापागाईंलगायतले उक्त कृति सार्वजनिक गरे । चापागाईंले कृति सार्वनजनिक गर्दै वियोगीका नियात्राहरूमा मानवीकरण भेटिने उल्लेख गरे । साहित्यकारको व्यक्तित्व तिनका कृतिमा भेटिने बताउँदै उनले कृतिभित्रका विभिन्न रोचक प्रसंगहरूको चर्चा गरे ।कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. कपिल अज्ञातले यात्रामा आँखा, मन र गोडा, तीनैको सन्तुलन हुनुपर्ने भन्दै तिनकै सन्तुलनले नियात्रा जन्मिने बताए । उनले वियोगीका नियात्रामा अनुभूति र सन्देश पर्याप्त रहेको बताए । अर्का समीक्षक अनुपमा रेग्मीले वियोगीका नियात्रामा अनुभूति र अभिव्यक्ति गहन रूपमा आएको बताइन् । कृतिकार बुढाथोकीले यो कृति आउनुको अन्तर्य बताए ।शिवपुरी साहित्य समाजद्वारा आयोजित कार्यक्रममा सर्जकहरू विष्णुबहादुर सिंह, श्रीओम रोदन, प्रोल्लास सिन्धुलीय, भवानी खतिवडा, केशव पराजुलीलगायतले बोलेका थिए ।पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

Facebook Comments Box

Similar Posts