फागुन १७, काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानको १७० औँ कार्यक्रममा रामचन्द्र दाहालद्वारा लिखित अवसाद उपन्यासको लोकार्पण गरिएको थियो । यस कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा हास्यव्यङ्ग्यकार नगेन्द्रराज पौडेल हुनुहुन्थ्यो भने अन्य अतिथिमा सुरभिका संरक्षक युवराज मैनाली, समीक्षक गोपी मैनाली, रामबहादुर पहाडी, घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ, साहित्यकार विपिन देव र अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल रहनुभएको थियो ।

एक बजे सुरु भएको यस कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्यपछि कथा वाचन भएको थियो । कथावाचन पश्चात् प्रमुख अतिथि र अन्य अतिथिहरुले संयुक्त रुपमा उपन्यास अवसादको विमोचन गर्नुभएको थियो । समीक्षक गोपीकृष्ण मैनालीले लोकार्पित पुस्तकको समीक्षा गर्नुभएको थियो भने अन्य वक्ताहरूले रामचन्द्र दाहाललाई बधाई तथा शुभकामना दिएका थिए । ६० जनाभन्दा बढीको उपस्थिति भएको यस कार्यक्रममा सुशील आचार्य, रञ्जना पराजुली लम्साल, गीता बराल, सरिता दुलाल घिमिरे, मधुसूदनप्रसाद घिमिरे, आलोक चालिसे र अच्युत चालिसेले कथा र लघुकथा वाचन गरेका थिए । बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा लेखक रामचन्द्र दाहालले पुस्तक लेख्ने क्रममा आइपरेका विविध कुरालाई प्रस्तुत गर्नुभयो ।

Facebook Comments Box

Similar Posts