- डा. मधु माधुर्य
… यथार्थ हो या भ्रम ?
यो रमाइलो संसार –
विचारहरुको ‘सिमुलेशन’ !
चेतनाको एक क्वान्टम रङ्गीन अभिव्यक्ति !
जुनसुकै परिभाषा सुहाए पनि
सबथोक छोपिएका छन् यहाँ
हामी जे देख्छौँ
आवरण देख्छौँ
सबथोक ढाकिएका छन्‘भि. आर. रियालिटी’ जस्तै
दृश्यहरुमा प्रतिविम्बित –
तिमी तिमी होइनौ
म म होइन
ऊ ऊ होइनतिमीले मलाइ हेर्दा
मेरो अनुहार होइन
अनुहार छोप्ने मखुन्डो देख्छौँ
मैले तिम्रो मुहारमा
मुहार छोप्ने मखुन्डो देख्छु
अहिले त मखुन्डोहरु पनि चिन्न गाह्रो छ
अत्याधुनिक शृङ्गारले अर्को भ्रम थपेको छ
ए.आइ.ले यथार्थमाथि थप भ्रम थपेको छ
उस्तै उस्तै देखिने मखुन्डोहरु चिन्न गार्हो छ… मानिसहरु केवल आवरणहरुमा बाँच्दा रहेछन् …
आवरणहरुमा –
सुरक्षा महसुस गर्छन् मान्छेहरु
सहज महसुस गर्छन् मान्छेहरु
आवरण खोली हेर्दा बेहोस हुन्छन् मान्छेहरु
आवरण फ्याँक्नुपर्दा मरे झैँ गर्छन् मान्छेहरुआवरणबिना नाङ्गै जन्मेको बालकलाई
कहाँ थियो लाज ?
कहाँ थियो सरम ?
समाजले संस्कारको आवरण दियो
सङ्गतले आवरणहरु थप्दै गयो
र हरायो –
मान्छेको सक्कली रुप
असली अनुहार !मैले कोसँग वार्ता गरिरहेछु ?
म कोसँग हिंडिरहेको छु ?
म कोसँग बसिरहेको छु ?…
यी प्रश्नहरुले –
हमेसा मलाई घोचिरहन्छन्
पोलिरहन्छन्/डामिरहन्छन्
मरेर गईसकेपछि पनि
यहाँ –
आवरणकै शालिक बन्छ किन
मखुन्डोकै स्मरण हुन्छ किन ?अज्ञात भयमा बाँचिरहेका मानिसहरु
आवरण र मखुन्डोलाई
सुरक्षाकवच बनाइरहेका छन्
लाग्छ –
मानिस मानिसदेखि असुरक्षित छन्
हामीलाई बाघको भन्दा पनि
मानिसको डर लाग्छ
हामीलाई सर्पको भन्दा पनि
मानिसको डर लाग्छ …… मानिस भएर बाँच्ने एउटा सुन्दर सपना छ…
अस्टावक्रले दिएको
उपदेश जनकले बुझेको क्षण हेर्न चाहन्छु
सम्पूर्ण अवतारहरुबाट निस्कन चाहन्छु
म –
अवतारविहीनहरुसँग बाँच्न चाहन्छु
कस्तो हुँदो हो यो संसार ?
आवरणबिनाको
मखुन्डोबिनाको !आऊ खुल्ला मैदानमा –
हामी सबैले
आ–आफ्नो मखुन्डो उतारौँ
आ–आफ्नो आवरण खोलौँ
र
उन्मुक्त मनले हेरौँ
कति होलान्
हामीबिच
‘मानिस’हरु,
मानवरुपी देवताहरु
र
मानवरुपी दानवहरु … ?
Facebook Comments Box


