सागर फुयाल
(हाल वर्लिन, जर्मनी)
सधैं जस्तै आज पनि
मृगहरू चर्दैछन्
जंगल बिचको खुल्ला चौरमा
खोला छेउमा
सधैं जस्तै आज पनि
थप एउटा मृग घटेको छ
त्यो बथानमा!
मृगहरू
उफ्रन्छन्, चर्छन्, पानी पिउँछन्
शीतल हावाको आगमनसँगै
निस्फिक्रि सुस्ताउँछन्
रूखको छहारीमा।
शीतलताको आभूषण बोक्दै
बहने त्यही हावाले
मृगहरू निन्द्रामा भएको खबर
फैलाइदिन्छ जंगलमा चारै तिर
अनि खबर पछ्याउँदै
भोकाएका हुँडारहरू
र्याल चुहाउदै, हुल बाधेर
हिजो जस्तै आज पनि
निसाना साध्न आउछन्
त्यही मृगको बथानमा
निश्चित छ, आज पनि
थप एउटा मृग हुने छैन बथानमा।
तर बुझ्दैनन् यो रहस्य
ति अबोध, निश्छल मृगहरू
त्यो शीतलता बोकी ल्याउने हावा
कति विषाक्त छ भनेर
कति जाली छ भनेर
त्यसैले त हरेक दिन
रूखको छहारीमा सुस्ताउन
शीतलता बोकी ल्याउने
त्यही हावाको ब्यग्र पर्खाईमा
बसेका हुन्छन् मृगहरू॥